५ असार २०८१, मंगलवार
Follow Us

‘कङ्गारु’मा जितु नेपाल अनुबन्धित

नेपालब्रिटेन संवाददाता
२ असार २०८१, शनिबार ०५:४५

काठमाडौँ । निर्माणको तयारीमा रहेको फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट् बस्नेतको निर्देशन रहने फिल्मका लागि जितु र निर्माण पक्षबीच शुक्रबार कागजी सम्झौता भएको छ ।

यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । फिल्ममा राजीव गुरुङ ‘दीपक मनाङ्गे’ प्रस्तुतकर्ता छन् ।

जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू उत्साहित भएको बताए । ‘फिल्म ‘ज्वाइँ साब’को सेटमै आएर हस्ताक्षर गराउनु भयो, यो मेरा लागि अझ खुशीको कुरा हो’, उनले भने ।

यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले ‘कङ्गारु’ सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने बताए । लोकेसन हेर्नका लागि अष्ट्रेलियामा रहेका निर्देशक बस्नेतले यसै हप्ता नायिका फाइनल गरेसँगै छायांकनमा जाने बताए । ३५ दिनको छायाङ्कन सेड्युल तय गरिएको फिल्मको छायाङ्कन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरालगायतका क्षेत्रमा गरिनेछ ।

निर्देशक बस्नेतले स्क्रिप्टमा दुई वर्ष समय लागेकाले नयाँ कथा दर्शकले पाउने दाबी गरे । यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालिको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माताको रूपमा छन् ।

फिल्मको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । फिल्मको लाइन प्रोड्यूसरमा सविन ज्ञवाली (अष्ट्रेलिया) रहेका छन् । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।