दिनेश परियार ।
लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैटौं महाधिवेशनको तयारी हुँदै गर्दा जुन ५ (जेठ २३) मा केन्द्रिय अध्यक्ष बिपुल पोखरेलको चिठी आयो ।
आग्रह थियो अधिवेसन नतोक्न र नयाँ सदस्यता वितरण नगर्न । यो पत्र बेलायत शाखा अध्यक्ष ध्रुवराज अर्यालले मेरो आग्रहपछि अति गोप्य भन्दै जुन १३ मा शेयर गर्नुभयो ।
उहाँले पठाउनुभएको गोप्यता कायम नै राखेको थिएँ, केन्द्रकै सदस्यले पत्रकारहरुलाई दिएपछि सो पत्र बाहिरिएको थियो जुन अधिकांश पदाधिकारीहरुलाई समेत थाहा थिएन ।
यसअधि मे ३१ को बैठकले नै शाखाको सदस्यता आवेदनका लागि निर्धारित समयभित्र प्राप्त कुल ७० आवेदनमध्ये प्रक्रिया र योग्यता पुग्ने नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० आवेदन स्वीकृत गरिसकेको थियो ।
नविकरणमा आएका सबैलाई हेर्दै नहेरि सदस्यता दिने बाँकी नयाँ आवेदन दिएका पत्रकारहरुलाई बहुमतको आधारमा सदस्या नदिनु गलत नियत थियो भन्ने पुष्टि भएकोेछ । यता शाखाका अध्यक्ष अर्याल आफैले पूर्वअध्यक्ष विपिन निरौलासंग गरेको सम्झैता पूर्णरुपका कार्यान्वयन नगरे पछिको विवाद यथावत थियो । अर्याल सो सहमतिबाट भागेरै हिडेका थिए । उनीले असन्तुष्ट पक्षसंग छलफल समेत गर्ने साहस राखेनन् ।
शाखाको छैठौं अधिवेशन आगामी जुलाई १४ तारिख आइतबार अल्डरसटमा गर्ने निर्णय पनि सोही दिन गरिएको थियो ।
यसैबीच, केन्द्रको चुनाव जुलाई ६ भित्र हुने सूचना निस्क्यो र बेलायत शाखाका पदाधिकारीहरुबीच अनौपचारिक सहमति भयो, तर माईन्युट गरिएन ।
निर्धारित समयमा केन्द्रको चुनाव भएन भने केन्द्रको प्रतिनिधि आउँछन् त ? केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले अघि बढनुस् भन्नुहुन्छ त ? भन्ने मेरो प्रश्न अनुत्तरित नै रह्यो ।
शाखाको स्थापना देखि छैटौ महाधिवेशनसम्म आइपुग्दा पहिलो पटक केन्द्रीय प्रतिनिधि विनाको निर्वाचन हुदैं थियो ।
शाखा अध्यक्ष अर्यालको आश्वासन थियो – त्यो त भईहाल्छ नि, नभए जो भए पनि ल्याउँला । बहुसंख्यक साथीहरुको बीचमा मैले पनि स्वीकार गर्ने वातावरण भयो । शाखाको अध्यक्षलाई बिगत तीन वर्षसम्म विश्वास र सहयोग गरेको थिएं र अहिले पनि अविश्वास गर्ने कारण थिएन ।
२४ जुनको पूर्ण बैठकले भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमिति बैठकले नरेश खपांगीमगर नेतृत्वको निर्वाचन समितिलाई पूर्णता दियो । त्यतीखेर निर्वाचन समितिका एक सदस्य नेपालमा र अर्का सदस्य अमेरिकामा थिए । निर्वाचनको उम्मेदवारी दर्ताको दिन सम्म बांकी दुवै सदस्यहरु निर्वाचन प्रकृयाका बारेमा अनभिज्ञ थिए । निर्वाचन खपांगीमगरको एकल निर्णयबाट अघि बढेको थियो।
यसैबीच, केन्द्रमा चुनाव हुने संकेत देखिएन । प्रेस युनियन आन्दोलनमा होमियो । ६ जुलाईमा हुने भनिएको केन्द्रको चुनाव अर्को सूचना नआएसम्मका लागि स्थगित भयो ।
तर यता भने केन्द्रले बेलायत शाखाको निर्वाचन पुनः सुरु गर्न कुनै पत्र पठाएन, न त प्रतिनिधि नै पठायो ।
संधैभरि विधि, विधान, पद्धति र प्रकृयामा अडिग रहने म, केन्द्रबाट कुनै पत्र नआएको कन्फमेसन पछि मैले अधिवेसन स्थगन गर्न समिति समक्ष अनुरोध गरे ।
कार्यसमितिको आकस्मिक बैठक बस्न सुझाए । तर कार्यसमिति झस्कियो र उल्टो मलाई कार्वाहीको धम्की दिइयो ।
त्यसपछि न त आकस्मिक बैठक बस्यो, न त केन्द्रको पत्र आयो, न त औपचारिक प्रतिनिधि नै । केन्द्रको प्रतिनिधि नआउने र केन्द्रीय अध्यक्षको पत्रले अधिवेशन नगर्नु भने पछि निर्वाचन प्रकृया स्वतः रद्द हुनेनै भयो । तर साथीहरु बीच सहमति होस् भनेर मैले आफ्नो उम्मेदवारीमा लचकदार हुने सन्देश सबैलाई दिएको थिएं तर निर्वाचन समिति र अध्यक्ष अर्यालको बलमिचाईले १४ जुलाईसम्म पुग्दा संस्था दुई टुक्रा भइसकेको थियो ।
बेलायतमा एनआरएनए लगायत विभिन्न जातीय, क्षेत्रिय, राजनीतिक दल र सामाजिक संस्थाहरु छन् । कतिपय विभाजित अवस्थामा पनि छन् । तर समाजलाई मार्गदर्शन गर्ने ठानिएको पत्रकारहरुको संस्था आफैं विभाजित हुन पुग्दा हामी मात्रै हैन, हाम्रा शुभचिन्तकहरु अनि दुखी छन्।
पत्रकार महासंघ बेलायत शाखामा निर्वाचन गराउने अवस्था आयो भने यसले संस्थालाई विभाजित अवस्थामा पुर्याउँछ भन्ने मेरो ठहर थियो । यसर्थ म शुरुवाती दिनदेखि नै सहमति गराउन र खोज्न प्रयाशरत थिए ।
सहमतिको लागि वरिष्ठ साथीहरुले अथक प्रयास गर्नु भएको थियो, तर प्रकृयाका नाममा संस्थाको घाँटी निर्चोने काम गरियो ।
निर्वाचन हुने अघिल्लो दिन जुलाई १३ तारिख शनिवार सम्म पनि म आफु प्रतिस्पर्धामा नरहने भन्दै संस्थाको बृहत्तर हितको लागि सहमतिको प्रयास जारी राखें । निर्वाचन समितिका संयोजक नरेश खपांगीसंग करीव डेढ घण्टा वार्ता गरी आफ्नो भनाई स्पष्ट राखें ।
उहाँले सहमतिका लागि आफनो भूमिका नभएको स्पष्ट पार्नुभयो । सहमतिका लागि अन्तिम प्रयास गर्नुहोस्, म उम्मेदवारी फिर्ता लिने समय थपिदिन्छु भन्न सक्नुभएन । सहमतिको लागि निर्वाचनको लागि मनोनयन दर्ता प्रत्यक्ष रुपमा गरौं भन्दा उहाँको एकल निर्णयले इमेल मार्फत गरियो सहमतिको मुख्यबाध्यक उहाँनै बन्नु भयो ।
संस्थामा हुने सम्भावित विभाजन रोक्न विभिन्न मोडलमा जान सक्ने गरि छलफल नभएको होइन, तर म बरु निर्वाचनको रेस छोड्न चाहन्थे संस्था मिलोस् भन्ने थियो । म चाहिं बाहिरिने हो भनें । त्यसो हुँदा संस्था सिंगो रहने थियो । विगतमा पनि दुई बरिष्ठ उपाध्यक्ष राखेर, दुई उपाध्यक्ष, सहसचिव थपेर पनि नेतृत्व मिलान गरिएकै हो । अध्यक्ष अर्यालबाट कुनै जवाफ आएन । संस्थाका अन्य केही बरिष्ठ सदस्यहरुले त मेरो फोन उठाउने चेष्टा समेत गर्नुभएन । बिडम्बना कसैले पनि सहमतिको लागि कसरत गरेन । मेरो सबै प्रयासहरु असफल भए । मलाई ‘ ह्युमिलियट’ गरियो ।
अन्ततः बिमला सेनेलाई आफ्नो जिम्मेवारी निर्वाचन समितिलाई बुझाइसकेको कामचालु कार्यसमितिले मलाई कार्वाहीको धम्की दिएकाले म उपस्थित हुन सक्दिन भने ।
कुनै पनि जाति, धर्म, पार्टी, सम्प्रदाय भन्दा माथि उठेर नितान्त पत्रकारिता पेशा र व्यवसायिकताको वकालत गर्ने कुरा कतिपयलाई सैह्य भएन ।
समितिमा शाखाको एक मात्र संस्थापक सदस्य, दुई पटक उपाध्यक्ष, एक पटक वरिष्ठ उपाध्यक्ष भएर अध्यक्षको उम्मेदवार हुँदै गर्दा, अन्य पदाधिकारीहरु सबै निर्विरोध हुंदै गर्दा म माथि विभेदपूर्ण तरिकाले अन्याय र षडयन्त्र गरियो ।
वर्तमान कार्यसमितिका पदाधिकारीहरु जो केन्द्रको आधिकारिक प्रतिनिधि विना, अध्यक्षको पत्र विपरित मनोमानी ढंगले नै चुनिएको घोषणा गरिएको छ, त्यो कार्यसमिति आधिकारिक हुनै सक्दैन ।
सबै पत्रकार साथीहरु, बेलायती नेपाली समाजका अगुवाहरु, एकीकृत संस्था हाम्रो बलियो पक्ष हो । संयमता र धैर्यता अपनाउँ । विदेशी भूमिमा हामीले हाम्रो भावी सन्ततीका लागि गर्नुपर्ने, लडनुपर्ने धेरै ईस्युहरु छन् । आपसी भाइचारा बनाई राखौं ।
पुनश्चः, केही मित्रहरु कुरा नबुझी मलाई व्यक्तिगत रुपमा गालीगलौज र दानवीकरण गर्नमा उद्यत हुनुहुन्छ । हिम्मत भए आउनुहोस कुरा गरौं । फोनमै भए पनि जत्ति गाली गर्नुछ मलाई गर्नुहोस । सामाजिक सन्जालमा अन्टसन्ट लेख्दा आत्मरति त पाउनुहोला तर तपाईको आत्मा दुखी छ भन्ने सन्देश पनि जानेछ । यो बहुलवाद मान्ने समाज हो । खुशी भएर बाँच्नुहोस् है त । सामाजिक सन्जालमा असामाजिक व्यवहार सुहाउंदैन । सभ्य भाषामा श्रृजनात्मक आलोचना स्वीकार्य छ ।
अन्तमा, अहिले पत्रकार महासंघ यूकेको अध्यक्ष बिमला सेने भनेर समाजका कयौं सामाजिक संघसँस्थाले बधाई दिइरहेको देखिएको छ, तर संसारका सबै सामाजिक संघसँस्थाले मान्यता दिए पनि जुन संस्थाको अध्यक्ष त्यही संस्थाका सदस्यहरुले स्वीकार नगरे सम्म नेतृत्वमा रहनु अर्थ के रह्यो र ?
(परियार नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष हुन्)