काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ ।
सो पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गरेको हो ।
निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिए ।
‘उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गर्दछ’ उनले भने ।
आवेदन दिँदा आफूले उठन चाहेको निर्वाचन क्षेत्र उल्लेख गर्न पनि सो पार्टीले भनेको छ ।
प्रवक्ता थापाले उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्र सहितको उम्मेदवारलाई प्राथमिकता दिइने बताए ।