काठमाडौं । नेपाली काँग्रेसले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कारबाही भए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएको छ । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा काँग्रेस नेता अर्जुननरसिंह केसीले घिसिङमाथि व्यक्तिगत प्रतिशोध साँधेर कारबाही गर्न नहुने बताए ।
उनले आफ्नो दल प्राधिकरणको बक्यौता उठाउनुपर्ने पक्षमा भए पनि व्यक्ति लक्षित निर्णयको खिलाफमा रहेको स्पष्ट गरे । समिति सभापति ऋषिकेश पोखरेलले २१ अर्ब बढी बक्यौता नउठाएको विषयमा कुलमानमाथि कारबाही गर्न अख्तियारलाई सिफारिस गर्नुपर्ने निर्णय गराउने प्रयास गरेका थिए ।
‘बक्यौता उठाउनुपर्छ भन्नेमा हाम्रो स्पष्ट दृष्टिकोण छ’, केसीले भने, ‘तर, आग्रह र पूर्वाग्रह राखेर कसैमाथि पनि व्यक्ति केन्द्रित निर्णय गरिए हाम्रो दलले ‘नोट अफ डिसेन्ट’ लेख्छ ।’
काँग्रेस, माओवादी, रास्वपा, राप्रपा र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिवाद गरेपछि कुलमानमाथि कारबाहीको निर्णय सुनाएका सभापति पोखरेल पछि हट्न बाध्य भए । उनले त्यससम्बन्धी निर्णय अर्को बैठकबाट हुने भन्दै बैठक स्थगन गरे ।