१९ मंसिर २०८१, बुधबार
Follow Us

खोला किनारमा मानव कङ्काल फेला, चार जना प्रहरीको नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०८१, सोमबार ०५:११

काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।

बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन । गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए ।

उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीम हजामले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते निवेदन दिएका थिए । उनको खोजी गर्ने क्रममा कङ्काल फेला परेको हो ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा बाह्रदशी–७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशीलाई पक्राउ गरेको छ ।

बिरिङ खोला किनारमा भेटिएको शव राजेशकै भएको उनका परिवारले सनाखत गरेको प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।