२७ असार २०८२, शुक्रबार
Follow Us

जग्गा दान लिएको विषयमा छलफल गर्न ओलीले बोलाए सचिवालय बैठक

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०८१, आईतवार ०६:१७

काठमाडौं । सत्तारूढ एमालेले पार्टी सचिवालय बैठक बोलाएको छ । आइतबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भाटभटेनी सन्चालक व्यवसायी मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भइरहेको छ ।

ओली दम्पती र गुरूङ दम्पतीले दसैंको अघिल्लो दिन २४ असोजमा दान गरिएको जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए ।

स्वार्थ बाँधिये गरी नक्कली भ्याट बिल प्रकरणमा सर्वोच्च अदालतले १ अर्ब जरिवाना तोकेको र बालुवाटारको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा ल्याउने कार्यमा संलग्न मीनबहादुरबाट करोडौंको जग्गा दान लिएको र उनैले सुविधा सम्पन्न ९ तले भवन बनाइदिने प्रतिबद्धता जनाएकामा सर्वत्र विरोध छ ।

साढ़े ५ लाख कार्यकर्ता भएको पार्टी आफैंले कार्यालय बनाउनुपर्नेमा सरकारले नै मुद्धा चलाएको विवादित व्यापारीबाट जग्गा दान लिइनुले पार्टीका सदस्यहरुको शिर झुकेको एमालेकै कतिपय नेताहरुले सार्वजनिक रुपमा बताएका छन् ।

जग्गा दान लिएको विषयमा पार्टीभित्र समान धारणा बनाउन बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

धेरै पढिएको