सुनसरी । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ ।
धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश ध्रुवराज नन्दको इजलासले धरानका नगर प्रमुख साम्पाङले दिएको कार्यवाहक प्रमुखको जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको हो ।
साम्पाङले उपप्रमुख कार्यकक्षमा रहँदा रहँदै नाताले मामाससुरा पर्ने उपमहानगर–११ का वडाध्यक्ष फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाध्यक्षलाई कावा तोकेसँगै उपप्रमुख बेघा अदालत गएका थिए । आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यविभाजनसम्बन्धी व्यवस्थाअन्तर्गतको उपदफा (४) को देहाय (क) को देहाय (१२) ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेशसम्बन्धी छलफल पेसीका दिनसम्मका लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च. नं. २३२८ मिति २०८१ र असोज २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।