एमाले पूर्वउपाध्यक्ष भीम रावलले पार्टी सचिवालयले स्पष्टीकरण सोधेको विषयमा आपत्ति जनाएका छन् । रावलले आफूूलाई कुन नैतिकताका आधारमा स्पष्टीकरण सोधिएको भन्दै प्रतिप्रश्न गरे ।
अदालतले भ्याट छलीमा जरिवाना तोकेका र ललीता निवासको सरकारी जग्गा हड्प्ने कार्यमा संलग्न रहेको विषयमा मुद्धा विचाराधीन रहेका व्यवसायी मीनबहादुर गुरुङसँग ११ रोपनी जग्गा दान लिएको विषयमा जनताले ओलीसँग प्रष्टीकरण सोध्ने उनको भनाइ छ ।
‘स्पष्टीकरण मैले होइन, विवादित व्यापारीसँग कुन स्वार्थले करोडौं मूल्यको जग्गा दान लिइयो र त्यसबापत उनलाई के दिने भनिएको छ । त्यसबारे केपी शर्मा ओलीजी र उहाँका निकट भनिने नेताहरुले जनातलाई स्पस्टीकरण दिनुपर्छ’, रावलले भने ।
यद्यपि स्पष्टीकरणको पत्र प्राप्त भएपछि यसबारे विस्तृतमा आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ । रावलले गुरुङले दान दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय बनाउनुलाई गम्भीर विचलनको संज्ञा दिएका थिए ।
एमाले सचिवालयको आइतबारको बैठकले जग्गा दान लिएको विषयमा सार्वजनिक रुपमा पार्टीको विरोधमा बोलेको भन्दै रावल, स्थायी समिति सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिेनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले बडादसैंको एक दिनअघि २५ असोजमा गुरुङले कीर्तिपुरमा दान लिएको १० रोपनी १४ आना जग्गामा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए ।
त्यस विषयलाई लिएर पार्टीभित्र र बाहिरबाट समेत ओली र एमाले नेतृत्वको आलोचना भइरहेको छ ।