१८ भाद्र २०८२, बुधबार
Follow Us

अन्तिम अवस्थामा मन्त्रिपरिषद् बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०८१, सोमबार १३:५५

काठमाडौं । आज सोमबारको लागी बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित भएको एक मन्त्रीले जानकारी दिए ।

ति मन्त्रीले भने, ‘मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे बोलाइएको थियो तर अहिले स्थगित भएको खबर आएको छ, ‘कारण खुलाइएको छैन ।’ आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो ।

त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो । आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने मन्त्रीले बताए ।

संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा जान नहुने अडान राखेपछि ओलीको उक्त योजना तत्काललाई असफल भएको बताइएको छ ।

धेरै पढिएको