१ श्रावण २०८२, बिहीबार
Follow Us

लस एन्जलस आगलागी: ‘बम खसेजस्तो’ भयानक, मृत्यु हुनेको संख्या १६ पुग्यो

नेपालब्रिटेन संवाददाता
२८ पुष २०८१, आईतवार ०६:३८

लस एन्जलस । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा  र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ ।

अमेरिकामा अहिलेसम्म ४५ हजार एकडमा आगलागी भइसकेको छ भने ३० हजार एकड पुर्ण रूपमा ध्वस्त भएको छ । साथै, सो आगलागीमा परी करिब १२ हजार घरमा क्षति पुगेको छ । जसअनुसार हलिउडका ठुला सेलेब्रेटीका पनि अर्बौ मुल्यका घरहरू ध्वस्त भएका खबर प्राप्त भइरहेका छन्  ।

प्यासिफिक पालिसेडमा आफ्नो जलेको घरको अगाडि उभिएर ग्रेग च्याम्पियनले पनि आगलागीले सम्पूर्ण क्षेत्रलाई आतङ्कित बनाएको बताए । उनले भने, “यहाँको अवस्था बमले ध्वस्त पारेकोजस्तो छ।” मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञहरूले आशङ्का व्यक्त गरेका छन् । यसका साथै अधिकारीहरूले पनि यस विपत्तिको पूर्वतयारीबारे तीखो प्रश्नहरूको सामना गरिरहेका छन्।

क्यानडा सरकार संयुक्त राज्य अमेरिकालाई सहयोग गर्न अगाडि आएको छ । क्यानडाले आगो निभाउन अग्नि नियन्त्रकका अतिरिक्त विशेष उपकरणहरू पठाउँदै छ । अन्य ६० हजार भवन जोखिममा परेका छन् । आगलागी र डढेलोका कारण व्यापक क्षति पुगेकोले बिमाअन्तर्गत कभर गरिने कुल सम्पत्ति आठ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।

धेरै पढिएको