१३ चैत्र २०८१, बिहीबार
Follow Us

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०८१, बिहीबार १४:१५

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट प्रतिस्पर्धी नेत्रप्रसाद चापागाईँलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार भट्टराईले ७६१ मत प्राप्त गर्दा चापागाईँले ७३ मत मात्रै ल्याएका हुन् । गत माघ २९ गते मतदान भएकोमा बिहीबार मत परिणाम आएको हो । महाधिवेशनमा एक हजार तीन सय २४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो ।

उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन् । साथै उपाध्यक्षमा मानुषी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएकी हुन् । त्यसैगरी, महासचिवमा सोनामसिंह स्याङतान, सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश, भरत दाहाल निर्वाचित भएका छन् ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण समेत गरेका छन् ।