लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्, आइसीसी) को बैठक आज (मंगलवार) बस्दैछ।
संघका महासचिव गौरीराज जोशीका अनुसार बैठक नेपाली समय अनुसार दिउँसो ५ बजे भर्चुअल माध्यमबाट सुरु हुने छ। बैठकमा हालै सम्पन्न विभिन्न क्षेत्रीय सम्मेलनहरूको समिक्षा, पदाधिकारी बैठकका निर्णयहरूको अनुमोदन, तथा आगामी योजनासम्बन्धी विषयवस्तुहरूमा छलफल हुने जनाइएको छ।
बैठकको कार्यसूचीमा राष्ट्रिय समितिहरूमा सदस्यता वितरण र निर्वाचन प्रक्रिया, र आगामी अक्टोबरमा प्रस्तावित १२औं महाधिवेशनसम्बन्धी तयारी मुख्य रुपमा समेटिएको छ।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले आगामी मे महिनाको पहिलो साता एकलौटी रुपमा ‘एकताको महाधिवेशन’ गर्ने घोषणा गरेपछि अहिलेको बैठक थप महत्वपूर्ण बनेको हो। यसै सन्दर्भमा संघका वर्तमान अध्यक्ष डा. बद्री केसीले सम्पूर्ण पदाधिकारीहरूलाई काठमाडौँमा भौतिक उपस्थितिका लागि आग्रह गरेका थिए।
संघका केन्द्रीय पदाधिकारीहरू आगामी साता भित्र काठमाडौँमा जम्मा हुने तयारीमा रहेको स्रोतले जनाएको छ।