सरकारले उपत्यकाका थप तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रलाई दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । योसँगै यी क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नारायणहिटी संग्रहालय आसपास क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि प्रशासनले प्रदर्शन गर्ने क्षेत्रलाई खुम्च्याउँदै लगेको हो ।
राजावादी दल तथा समूह जेठ १५ देखि आन्दोलनमा छन् । निषेधित क्षेत्र तोकिएबाहेक प्रशासनको समन्वयमा हुने कार्यक्रमको हकमा सोहीअनुसार समन्वय गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।