११ असार २०८३, बिहीबार
Follow Us

रास्वपा महाधिवेशनमा गएका वडाध्यक्षलाई पदमुक्त गर्न एमालेको सिफारिस

नेपालब्रिटेन संवाददाता
११ असार २०८३, बिहीबार ११:०२

काठमाडौं । मोरङ बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदी रास्वपा महाधिवेशनमा प्रतिनिधि भएर चितवन पुगेपछि कारबाहीमा परेका छन् । उनी गएको निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका थिए । उनलाई पदमुक्त गर्न एमाले मोरङले सिफारिस गरेको छ ।

९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारीको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिएका छन् । सुवेदीले समाजिक सञ्जालमा सांसद गणेश कार्कीलाई केन्द्रीय सदस्यमा जिताउन अनुरोधसहितको पोष्ट समेत गरेका थिए । सुवेदी यसअघि एमाले मोरङको जिल्ला सदस्य पनि हुन् ।

दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित सुवेदी पहिलो कार्यकालमा नगरपालिकाको प्रवक्त समेत थिए । तर, जेनजी आन्दोलनपछि उनी एमालेमा निष्क्रिय रहे । जिल्ला कमिटी सदस्यबाट पनि राजीनामा दिएका थिए ।

धेरै पढिएको