लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा रहेका सबै गैरआवासीय नेपालीहरूले संघको सूचना व्यवस्थापन प्रणाली (एमआईएस) मार्फत सदस्यता आवेदन दिने विषयमा आम सहमति जुटेको छ।
गैरआवासीय नेपाली संघका उच्च स्रोतका अनुसार संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. हेमराज शर्मा र अमेरिकास्थित संघका अगुवाबीच पटक–पटक भएका छलफलपछि एमआईएस प्रणालीमै सदस्यता भर्ने सहमति भएको हो।
अमेरिकाका एनआरएनए अभियन्ता कृष्णजीबी पन्थले सामाजिक सञ्जालमार्फत उक्त सहमति भएको पुष्टि गरेका छन्। यसअघि सदस्यता कहाँबाट लिने भन्ने विषयमा सूर्य लम्साल र वर्तमान अध्यक्ष अर्जुन बन्जाडेबीच रहेको विवाद आजको सहमतिपछि अन्त्य भएको पन्थले जनाएका छन्।
उनका अनुसार “आगामी श्रावण महिनामा हुने राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको निर्वाचनका लागि सदस्यता वितरण असार २२ गते (जुलाई ६) सम्म हुने गरी समय सीमा तोकिएको छ। यदि कसैले अझै सदस्यता नलिएको वा पुरानो सदस्यता नवीकरण नगरेको भए, ‘स्मार्ट एनआरएनए एप’ प्रयोग डाउनलोड गरी नयाँ सदस्य बन्न वा नवीकरण गर्न आग्रह गरिएको छ।
हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियान केही चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ। तर निर्वाचन प्रक्रियामार्फत संघलाई अझ सबल, सक्षम, परिपक्व र एकताबद्ध संस्थाको रूपमा विकास गर्न सकिन्छ भन्ने विश्वास गरिएको छ।
अमेरिकास्थित अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नेताहरूबीच भएका छलफलहरूबाट सदस्यता सूचना व्यवस्थापन प्रणाली (एमआईएस) बाट लिनु पर्ने निष्कर्षमा पुगेको हो। एमआईएसमा आवेदन दिएर प्रमाणित भएका सदस्यहरूको विवरण आवश्यक सूचनामा पहुँच प्रविधि (एपीआई) मार्फत राष्ट्रिय समन्वय परिषद्को पोर्टलमा तत्कालै (वास्तविक समयमै) उपलब्ध हुने व्यवस्था गरिनेछ। साथै ती विवरणमा पूर्ण पहुँचको व्यवस्था रहनेछ। निर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकारीलाई वा सदस्य विवरण सच्याउन राष्ट्रिय समन्वय परिषद्लाई पूर्ण पहुँच प्रदान गरिनेछ।
गैरआवासीय नेपाली संघलाई व्यापक एकताको सन्देश फैलाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताइएको छ। अहिलेको अवस्थामा सदस्य बन्नु नै सबैभन्दा उपयुक्त विकल्प भएकाले संस्थालाई परिणाममुखी र एकताको वातावरणयुक्त बनाउन सबैलाई स्मार्ट ‘एनआरएनए एप’ प्रयोग मार्फत सदस्यता लिन वा नवीकरण गर्न आग्रह गरिएको छ।”