लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको कार्यसमितिका लागि आज (मंगलवार) अनलाइन मतदान सुरु भएको छ।
आगामी दुई वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न केन्द्रीय प्रतिनिधिका रूपमा संघका उपाध्यक्ष डा. हेमराज शर्मा आयरल्याण्ड पुगेका छन्। उनीसँगै संघका सचिव भीमकमल केसी पनि सो निर्वाचनको सुपरिवेक्षणका लागि नर्दर्न आयरल्याण्ड गएका छन्।
निर्वाचन समिति संयोजक शुक्रराज नेउपानेका अनुसार ओम अधिकारी र चेतराज ओलीबीच प्रतिस्पर्धा हुँदैछ। समितिका अनुसार अनलाइन मतदानको परिणाम आजै राति १० बजेभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ।
डा. शर्मा र सचिव केसी मंगलबार बिहान आयरल्याण्ड पुग्दा संघका पूर्व सह-कोषाध्यक्ष मिलन छन्त्याल लगायतका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
एनआरएनए अन्तर्गत विश्वका करिब ६० भन्दा बढी देशका राष्ट्रिय समितिमा आगामी जुलाई महिनाभित्र अधिवेशन सम्पन्न हुँदैछ।