काठमाडौ । यसवर्षको तीज पर्व आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।
कतै साँझमा अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गर्दछन । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।
दरखाने दिनदेखि तीजको रौनक सुरु हुन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन ।
मंगलबार व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ ।
परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा गर्ने चलन छ । तीजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ ।