काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन ।
रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन आग्रह गरेका हुन । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताए । अमेरिकामा रहेका देवकोटाले भने, ‘१० महिनाको भाडावापतको रकम पाएको छैन ।
पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलै रकम छ । के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।
रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरे ।
‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटाले भने, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन । स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।