पाँचथर । मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन् ।
मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन् । मापक पदार्थ सेवन गरेका बखतसिंहले आइतबार ३:२० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
दाहिने कुम, कञ्चट र छातीमा गोली लागेका सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।
प्रहरीले बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मृतक सफलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।