१७ कार्तिक २०८२, सोमबार
Follow Us

रास्वपाको केन्द्रीय विभागमा फेरियो जिम्मेवारी, को-कहाँ ?

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०८२, सोमबार ०५:४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार सम्पन्न सचिवालय बैठकले संगठन सुदृढीकरण तथा कार्यसम्पादन क्षमता विस्तारका उद्देश्यसहित विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी हेरफेर गरेको छ।

प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै संरचनात्मक परिमार्जनमार्फत पार्टीलाई अझ गतिशील बनाउने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धान कार्यमा संलग्न रहँदै आएका अनुभवी अनुसन्धानकर्मी हुन्।

त्यस्तै, रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्यका रूपमा नियुक्त गरिएको छ। भट्टराई पूर्व नेपाल स्काउट निर्देशक हुन् भने शाक्य जनस्वास्थ्य क्षेत्रका विज्ञका रूपमा परिचित छन्।

सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख र तोयानारायण पौडेललाई केन्द्रीय शिक्षा विभाग सदस्यको जिम्मेवारी दिइएको छ। पौडेल हाल ह्वाइट हाउस कलेजका प्राचार्य हुन्।

व्यवस्थापन विज्ञ बोधनारायण श्रेष्ठ केन्द्रीय संगठन विभाग उपप्रमुख बनेका छन्। श्रेष्ठ संयुक्त राष्ट्रसंघ नेपालमा लामो समय कार्यरत रहँदै व्यवस्थापन र प्रशासनिक दक्षताका लागि परिचित छन्।

त्यस्तै, पार्थीवेन्द्र उपाध्याय, मनिराम घिमिरे, र ज्ञानु पौडेललाई शिक्षा तथा महिला विभागमा सदस्यका रूपमा जिम्मेवारी दिइएको छ। पूर्व लुम्बिनी प्रदेश मन्त्री कल्पना पाण्डे र सामाजिक नेतृ ज्ञानु पौडेललाई पनि केन्द्रीय महिला विभाग सदस्यका रूपमा चयन गरिएको छ।

प्रवास नेपालीबीच सक्रिय अर्जुन अधिकारीलाई प्रवास सम्पर्क विभाग उपप्रमुख बनाइएको छ भने ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिवको जिम्मेवारी दिइएको छ।

त्यस्तै, विकास क्षेत्रमा अनुभवी प्रमिला कुमारी सिंहलाई नीति विचार विभाग सदस्यका रूपमा मनोनीत गरिएको छ।

धेरै पढिएको