६ मंसिर २०८२, शनिबार
Follow Us

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन: ओली

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०८२, शनिबार १३:२४

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । शनिवार पार्टीद्वारा काठमाडौँमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उनले सो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्याउन नसक्ने जिकिर समेत गरे । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठहर्याउन सक्ने अवस्था नरहेको समेत बताए । उनले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले भने ‘देशमा संविधान अनुसार नबनेको सरकार छ । संविधान मिचेर बनाएको सरकार छ । लोकतान्त्रिक विधि, लोकतान्त्रिक प्रक्रिया, त्यसबाट नबनेको सरकार छ । त्यस प्रणालीलाई लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक कृत्रिम ढङ्गले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट संवैधानिक परीक्षण हुनै पर्दछ । संविधानले कुनै पनि हालतमा यो सरकारलाई उचित ठहर्याउने ठाउँ नै छैन । कोर्टले यसलाई संवैधानिक ठहर्याउनै सक्दैन । यो सरकार असंवैधानिक बाटोबाट बनेको छ । त्यसकारण हामी यो सबै राष्ट्रिय समस्याको समाधान सही ढङ्गले होस भन्ने चाहन्छौ । र हुनेछ । यस कामको अगुवाइ नेकपा एमालेले गर्नेछ । मैले अघि नै पनि भने । नेकपा एमालेले यस कामको नेतृत्व गर्नेछ ।’

अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताए ।

धेरै पढिएको