१९ माघ २०८२, सोमबार
Follow Us

निर्वाचनमा भाग लिने दलको सङ्ख्या ६४ पुग्यो

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८२, सोमबार १३:२९

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ६४ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ५६ वटा दल दर्ता भएकोमा सोमबार मात्रै थप ८ दल दर्ता भएका छन् ।

सोमबार दर्ता हुने दलमा देवप्रकाश त्रिपाठी नेतृत्वको नागरिक शक्ति नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, खड्गबहादुर देवान नेतृत्वको मितेरी पार्टी नेपाल, तुलसीराज गिरी नेतृत्वको प्रगतिशील समाजवादी पार्टी, नेत्रबहादुर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) छन् ।

यस्तै, वेजेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, नुमनाथ प्याकुरेल नेतृत्वको राष्ट्रिय समुन्नत पार्टी र रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि सोमबार दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८-८ दल, पाँचौँ दिन ५ गते ७ दल, सातौँ ७ गते आइतबार १६ दल र आठौँ दिन सोमबार ८ दल दर्ता भएका छन् ।

यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने जम्मा दलको सङ्‍ख्या भने १३ पुगेको छ । हिजो आइतबारसम्म मात्रै राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गर्ने समयसिमा तोकिएको थियो ।

धेरै पढिएको