काठमाडौँ। कांग्रेसमा आगामी निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिसको क्रम जारी छ ।
जिल्लाले नाम सिफारिस गर्दा सबैभन्दा धेरै महामन्त्री गगनकुमार थापाको नाम सिफारिस भएको छ । थापा विभिन्न जिल्लासँगै तेह्रथुमबाट एकल सिफारिस भएका थिए । तर, कोशी प्रदेश समितिले भने उनीसँगै सीता गुरुङको पनि नाम थपेर केन्द्रमा पठाएको छ ।
गुरुङ विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एकमात्र महिला सदस्य थिइन् । कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले सीता गुरुङको नाम थपेर पठाइएको जानकारी दिए । उनले महामन्त्री र उनीनिटकहरूले ‘स्टन्ट’ गरिरहेको आरोप समेत लगाएका छन ।
यसअघि सीता गुरुङको नाम जिल्लाबाट सिफारिस नहुनुमा पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको त्यहाँस्थित केही नेता बताउँछन् । सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थापाको मात्रै र समानुपातिकतर्फ भने तेह्रथुम कांग्रेसले कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवालको नाम सिफारिस गरेको थियो ।
समानुपातिकतर्फ भने प्रदेशले पनि कुनै नाथ थपघट नगरेको बताइएको छ ।