१० पुष २०८२, बिहीबार
Follow Us

काँग्रेस महामन्त्री चुनावी दौडबाट बाहिर

नेपालब्रिटेन संवाददाता
१० पुष २०८२, बिहीबार १३:३६

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

सानेपास्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले नयाँलाई अवसर दिन आफू पछि हट्ने बताएका हुन् । यसबारे आफ्नो निर्वाचन क्षेत्रका नेता-कार्यकर्तालाई जानकारी गराइसकेको पनि शर्माले बताए ।

०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट साढे १४ हजार मतान्तरसहित उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । काँग्रेसले यसपटक पनि सोही क्षेत्रबाट उनलाई सर्वसम्मत सिफारिस गरेको छ ।

‘साथीहरूले फेरि पनि मलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्नुभएकोमा धन्यवाद दिएको छु’, बैठकमा शर्माले भने, ‘तर, मैले ०८४ को चुनावमा उम्मेदवार बन्दिनँ भनेको थिएँ, त्यहीअनुसार यसपाली साथीहरूलाई नै अब तपाईंहरू मेहनत गर्नुहोस् भनेको छु ।’

महामन्त्री शर्माले निश्चित निर्वाचन क्षेत्रभन्दा पनि समग्र पार्टी र मुलुकको सेवा गर्ने इच्छा रहेको बताए । ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सिमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूसँग साथमा पुग्नेछु, यो चुनावमा सकेसम्म अनुहार बदलेर जानुपर्छ’, उनले भने ।

धेरै पढिएको