१६ पुष २०८२, बुधबार
Follow Us

आन्तरिक कलह त्यागेर निर्वाचनमा नहोमिए कांग्रेस भूमिकाविहीन हुन्छ : डा. शेखर कोइराला

नेपालब्रिटेन संवाददाता
१६ पुष २०८२, बुधबार ०५:२५

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकको भू-राजनीतिक संवेदनशीलता र बाह्य शक्तिहरूको बढ्दो दबाबलाई सामना गर्न बीपी कोइरालाको ‘राष्ट्रिय मेलमिलाप’ को नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

४९औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बुधबार एक सन्देश जारी गर्दै डा. कोइरालाले पाँच दशकअघि जस्तै अहिले पनि विश्वमा महाशक्ति राष्ट्रहरूको द्वन्द्व र स्वार्थ सतहमा आएको उल्लेख गरेका छन् । उनले नेपाल जस्तो संवेदनशील भू-राजनीतिक स्थितिमा रहेको मुलुकले आफ्नो राष्ट्रियता र स्वतन्त्रता अक्षुण्य राख्न राष्ट्रिय एकता र मेलमिलापको विकल्प नरहेको जिकिर गरेका छन् । ‘आज पाँच दशक पछि फेरि विश्वमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू अगाडि आएको हामी अनुभव गर्दैछौँ,’ सन्देशमा भनिएको छ, ‘यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता विपीको विचारलाई फेरि एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छ ।’

डा. कोइरालाले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता कांग्रेसको मात्र नभई सिंगो देशको विषय भएको स्पष्ट पारेका छन् । उनले राष्ट्रिय एकताका लागि सत्ता राजनीतिभन्दा माथि उठेर सार्वभौम नेपालीहरूले सतर्कता सहितको ऐक्यबद्धता देखाउनुपर्नेमा जोड दिए । देशको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको रक्षा गर्न बीपीको सन्देशलाई साझा प्रतिबद्धता बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उनको भनाइ छ ।

सन्देशमार्फत डा. कोइरालाले पार्टीभित्रको आन्तरिक जीवनमा देखिएको विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले कांग्रेस भित्रको एकता केवल पार्टीको सुधार मात्र नभई राष्ट्रकै आवश्यक तत्त्व भएको बताए । भावी युवा पुस्तालाई शान्त र समृद्ध नेपाल हस्तान्तरण गर्न पार्टीभित्रका अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्त्वाकाङ्क्षा समाप्त गर्नुपर्नेमा उनले जोड दिएका छन् । डा. कोइरालाले भनेका छन्, ‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरे मात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौँ भने हामी भूमिकाविहीन हुने खतरा रहन्छ ।’

धेरै पढिएको