काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारतको दिल्ली लगिने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत सुवेदीलाई आजै दिल्ली लग्न लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सुवेदीको स्वास्थ्यमा सुधार नदेखिएपछि ‘सेकेन्ड ओपिनियन’ का लागि विदेश लैजाने निर्णय गरिएको हो । प्रधानमन्त्रीका निजी चिकित्सक डा. मनबहादुर केसीको सल्लाहमा उनलाई आजै केहीबेरअघि अस्पतालबाट डिस्चार्ज गरिएको एक चिकित्सकले बताए । दिल्लीको कुन अस्पतालमा उपचार गराउने भन्ने विषय भने गोप्य राखिएको छ ।
सुवेदी गत बिहीबारदेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनमा पिसाबमा संक्रमण, शरीरमा सोडियमको मात्रा कम हुने (हाइपोनेट्रेमिया), रिंगटा लाग्ने लगायतका समस्या देखिएका थिए । यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराइसकेका छन् । पछिल्लो समय संक्रमण बढेका कारण स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारका क्रममा उनको अवस्था स्थिर रहे पनि पूर्ण सुधार नभएपछि विदेश लैजाने तयारी गरिएको हो ।