लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्मा कोरिया पुगेका छन् ।
गैरआवासीय नेपाली संघ कोरियाले मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष डा. शर्माले संस्थाभित्र विगतमा देखिएको विभाजनप्रति जिम्मेवारी स्वीकार गर्दै क्षमायाचना गरेका छन् ।
डा. शर्माले आफू चुनावी प्रचारका लागि नभई एकताको सन्देश लिएर कोरिया आएको स्पष्ट पार्दै भने, “विभिन्न कारणले संस्थाभित्र फुट सिर्जना भएको छ, त्यसप्रति म क्षमायाचना गर्न चाहन्छु । अब हामी सबैलाई एकतामा जुटाउने दिशातर्फ अघि बढ्नेछौँ ।”
उनले आगामी दिनमा गैरआवासीय नेपाली संघभित्र एकता कायम गर्दै संस्थालाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । साथै, गैरआवासीय नेपाली संघका दुवै अध्यक्ष—डा. बद्री केसी र महेश कुमार श्रेष्ठ—को पहलमा आएको एकताको प्रस्तावलाई कार्यान्वयन गर्न आफू विश्वव्यापी दौडाहामा निस्किएको जानकारी दिए ।
डा. शर्माले गैरआवासीय नेपाली संघसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट फरक–फरक फैसला आएपछि जटिलता उत्पन्न भएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर ६ महिनाभित्र निर्वाचन गर्ने सहमति भइसकेको स्पष्ट पारे ।
उनका अनुसार संघको १२औँ महाधिवेशन अन्तर्गतको निर्वाचन संशोधित विधान २०२२ बमोजिम हुने तयारी भइरहेको छ । साथै, राष्ट्रिय समन्वय समितिहरूमा देखिएका विवादहरू विभिन्न मोडालिटीमा छलफलमार्फत समाधान गरी एकता कायम गर्न उनले आग्रह गरे ।
समयअनुसार संस्थागत संरचनामा सुधार गर्न नसक्दा पैसा र राजनीतिक दलको प्रभाव बढ्नुका साथै निर्वाचन प्रणालीमा देखिएका कमजोरीका कारण संघ विभाजित भएको स्वीकार गर्दै डा. शर्माले आगामी दिनमा यस्ता गल्ती नदोहो-याउने प्रतिबद्धता जनाए ।

फेब्रुअरी २३, २४ र २५ तारिख काठमाडौँमा हुने गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशनका लागि अध्यक्ष पदका आकांक्षीसमेत रहेका डा. शर्माले केही दिनभित्र नयाँ रोडम्यापसहित घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा पार्वती मोक्तान, विपिन गुरुङ, गैरआवासीय नेपाली संघ कोरियाका पूर्वअध्यक्षहरू केपी सिटौला, राजु थापा, लक्ष्मी गुरुङ, योगराज सुवेदी, दीपक पुन, बुद्धि गुरुङ, लक्ष्मण सुवेदी, डा. देवी बस्नेत, डा. बिमल सुवेदी, राम सुवेदी, लोक–राज जोशी, यामप्रसाद खनाल, गिरिराज कुँवर, शिवराज बमजम, रञ्जन भण्डारी, डा. यमप्रसाद खत्री, लोकेश पौडेल, प्रमोद घिमिरे, ईश्वरी अधिकारी, रोशन भट्टराई, लोचन राई, मिना गुरुङ, हर्कमान गुरुङ, टिकाराम कँडेल, अमित थपलिया, सबिना कुँवर, विजय लुइँटेल, अनिल सुवेदी, सागर बुढा, केशव थापा, ललित अधिकारी र राजन अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रकाश धमलाले गरेका थिए ।
