काठमाडौँ । ओखलढुंगामा श्रृखलाबद्ध रूपमा हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगा चिशन्खुगढी गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरिएको हो भने बाँकी ३ जनालाई रातमाटेबाट पक्राउ गरेको हो ।
ओखलढुंगामा दुई वटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने ४ जनाको गिरोहलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाँउस्थित शोभितमान किराना पसल सञ्चालन गरी बस्ने वर्ष ६० शोभितमान थापा मगर र श्रीमती वर्ष ६० रत्नमाया थापा मगर दुवै जनालाई धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या गरेका थिए । हत्या पश्चात् गोठमा लगी स्याउलाले छोपी, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरी फरार भएका थिए ।
उक्त घटनाको नेपाल प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, लाजिम्पाट, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान पश्चात् सो घटनामा संलग्न निम्न व्यक्तिहरूलाई पक्राउ गरेका थिए ।
पक्राउ गरी प्रारम्भिक सोधपुछको क्रममा उनीहरूले यसअघि ३ महिना अघि नै अर्को हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
गत असोज २६ गते राति २ बजे ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ चार्खुमा खेती किसानी गरी बस्ने एकल महिला वर्ष ५२ कि रत्न कुमारी कटवाल (कार्की) लाई बन्चरोले दाहिने पट्टीको कन्चटको भागमा प्रहार गरी बिभत्स हत्या गरेका थिए ।
कार्कीलाई कन्चट तथा कानको भागमा प्रहार गरी विभत्स हत्या गरी नगदसमेत लुटपाट गरी फरार भएको खुल्न आएको ब्युरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जनाकारी दिए ।
उनीहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो एक थान लुटिएको ५.८० ग्राम तौल भएको रिङ, खुकुरी, भरुवा बन्दुक, कोदालो मोबाइलहरू बरामद गरिएको छ। हाल उनीहरूलाई पक्राउ गरी कारबाही तथा आवश्यक थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।