३० पुष २०८२, बुधबार
Follow Us

नेपाली कांग्रेसभित्र सहमति, पार्टी नफुट्ने सुनिश्चित

नेपालब्रिटेन संवाददाता
३० पुष २०८२, बुधबार ००:४५

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलबार अबेर रातिसम्म भएको तेस्रो चरणको वार्ता सकारात्मक देखिएको छ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले बुधबार एक रेडियो अन्तर्वार्तामा बिहान १० बजेसम्म पार्टीभित्र सहमतिसम्बन्धी शुभ सन्देश आउने बताएका छन्।

उनले नेपाली कांग्रेस नफुट्ने स्पष्ट पार्दै भने, “छलफल जारी छ, बिहान निष्कर्ष निस्किन्छ। माओवादी द्वन्द्व समाधान गर्न सक्षम पार्टीले आफ्नो आन्तरिक विवाद पनि समाधान गर्न सक्छ।” दुवै पक्षका नेताहरू कांग्रेसकै साथी भएको उल्लेख गर्दै उनले सभापतिले एकता कायम राख्न निर्देशन दिएको जानकारी दिए। “पार्टी फुट्दैन,” खड्काले दोहोर्‍याए।

उनका अनुसार कसैको मानमर्दन नहुने गरी छलफल गरेर एकतामा पुग्ने सहमति बनाइनेछ। सभापति शेरबहादुर देउवाले पद छोड्नुपर्ने विषयमा सहमति नजाने पनि उनले स्पष्ट गरे।

यसअघि विशेष महाधिवेशन पक्षले सभापति देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्ने ‘बटमलाइन’ राखेपछि वार्ता निष्कर्षविहीन बनेको थियो।

वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षले देउवाको राजीनामासहित सहमतिका आधारमा नयाँ नेतृत्व चयनको माग गरेको थियो। त्यसको विकल्पका रूपमा देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्दै राजनीतिक रूपमा निष्क्रिय हुनुपर्ने प्रस्ताव अघि सारिएको थियो।

धेरै पढिएको