इनरुवा । सुनसरीको इनरुवा नगरपालिका-४ स्थित युनिक एकेडेमीमा विद्यार्थीहरूबीच भएको सामान्य विवादले अभिभावकको प्रवेशसँगै ठुलो रूप लिएको छ । सरस्वती पूजाको चन्दा संकलन गर्ने विषयमा उत्पन्न मनमुटावका कारण मंगदबार विद्यालय र आसपासको क्षेत्र केही समय तनावपूर्ण रहन पुगेको हो ।
कक्षा १० का विद्यार्थीहरूबीच चन्दाको विषयलाई लिएर आपसी विवाद भएको थियो । सोही विषयमा आफ्ना छोरामाथि कुटपिट भएको भन्दै इनरुवा-४ निवासी ४२ वर्षीय लालदेव ठाकुर विद्यालय पुगेका थिए । सशस्त्र प्रहरीको परिचर पदमा कार्यरत ठाकुरले विद्यालयमै पुगेर सौरम मेहता, सन्दीप मेहता लगायतका विद्यार्थीमाथि दुर्व्यवहार तथा हातपात गरेको विद्यार्थीहरूको आरोप छ ।
अभिभावकबाटै विद्यालयभित्र विद्यार्थी असुरक्षित भएको भन्दै सहपाठीहरूले घटनाको विरोध गरेका थिए । न्यायको माग गर्दै विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि धर्ना दिनुका साथै केही समय प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा आरोपित ठाकुरले प्रयोग गरेको प्रदेश १-०२-००४९ प ५९९४ नम्बरको मोटरसाइकलमा आगजनी समेत भएको छ ।
विद्यार्थीहरूको आन्दोलनका कारण पूर्व-पश्चिम राजमार्गमा केही समय सवारी आवागमन प्रभावित भएको थियो । प्रहरीले घटनाको उचित छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि सडक सञ्चालनमा आएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले घटनाका मुख्य आरोपित लालदेव ठाकुरसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘विद्यार्थीबीचको विवादमा अभिभावकको प्रवेश र त्यसपछिको घटनाक्रमबारे हामीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।
प्रहरीले स्थिति नियन्त्रणमा लिएसँगै अहिले इनरुवाको जनजीवन सामान्य बनेको छ ।