२ माघ २०८२, शुक्रबार
Follow Us

काठमाडौँको सुधार अब राष्ट्रिय अभियानमा जोडिनुपर्छ : मेयर बालेन

नेपालब्रिटेन संवाददाता
२ माघ २०८२, शुक्रबार ०३:५०

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरमा सुरु भएका सुधारका प्रयासहरूलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको बताएका छन् । २६ औँ भूकम्प सुरक्षा दिवसको सन्दर्भमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरेका हुन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछिको समय स्मरण गर्दै उनले सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्र करिब २५ सय घर निर्माण गरेको र देशका ३५ भन्दा बढी जिल्लामा प्राविधिक सेवा पुर्‍याएको उल्लेख गरे । नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा केवल इन्जिनियरिङ दृष्टिकोण मात्र पर्याप्त नहुने तर्क गर्दै उनले भौगोलिक बनोट र समाजको विविधतालाई सँगै जोडेर लैजानुपर्ने अनुभव साटेका छन् ।

विकासको परिभाषा दिँदै बालेनले भने , ‘नेपालको विकास भन्नु केवल सडक, भवन र ठूला संरचना मात्र होइनन् । सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु नै वास्तविक विकास हो ।’

स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनका लागि भारत पुगेको र अध्ययनपछि सुविधासम्पन्न देशमा बस्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको उनले बताए । महानगरको नेतृत्व सम्हालेपछि पारदर्शी प्रणाली, सेवा प्रवाहमा सुधार र संरचनागत परिवर्तनको सुरुवात भएको दाबी गर्दै उनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी जनतालाई सुविधा दिन सक्छ भन्ने प्रमाणित गरेको उल्लेख गरे । ‘देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ । अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ’, उनले भने ।

राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको उनको जिकिर छ । संकट आउनुअघि नै तयारी गर्ने नीति, विपद् सहन सक्ने संरचना र जनताको विश्वास जित्ने शासन व्यवस्था नै आजको आवश्यकता रहेको उनले बताए ।

धेरै पढिएको