काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्यक्रम सञ्चालन गरिएको थियो । तोकिएको समयभित्र उपस्थित भएका केही उम्मेदवारको दर्ता प्रक्रिया भने साँझसम्म पनि जारी रहेको आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा प्राप्त विवरण अनुसार साँझ ५ बजेसम्म महिला ३०३ जना र पुरुष २ हजार ३ सय ५२ जना गरी जम्मा २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस पटक पनि महिला उम्मेदवारको संख्या तुलनात्मक रूपमा निकै कम देखिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अनुसार मनोनयन दर्ता भएका उम्मेदवारको सूची साँझ ५ बजेदेखि ७ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिनेछ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
उजुरीमाथि जाँचबुझ तथा निर्णय माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म गरिनेछ भने माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
त्यसैगरी, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।