काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं महामन्त्री गगन थापाले आफ्नो राजनीतिक परिचय र विरासत जोडिएको काठमाडौं क्षेत्र नम्बर ४ छाडेर आगामी निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ रोजेका छन् ।
विगतका निर्वाचनहरूमा निरन्तर जित हासिल गर्दै आएको र आफ्नै ‘आधारभूमि’ का रूपमा विकास गरेको काठमाडौंको सुरक्षित क्षेत्र छाडेर मधेस झर्ने थापाको यो निर्णयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । थापाले काठमाडौं-४ को जिम्मेवारी युवा उम्मेदवार सचिन तिमल्सेनालाई सुम्पिँदै आफू भने मधेसको चुनावी रापमा होमिएका हुन् ।
जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक लहरका कारण असुरक्षित महसुस गरेर उनी सुरक्षित ठाउँ खोज्दै मधेस पुगेको टिप्पणी एकातिर छ भने, अर्कोतिर उनले आफूलाई राष्ट्रिय नेताका रूपमा स्थापित गर्न मधेससँगको सम्बन्ध प्रगाढ बनाउन खोजेको विश्लेषण पनि भइरहेको छ ।
गगन भर्सेस पूर्वकांग्रेसी !
सर्लाही-४ मा गगनका लागि चुनावी बाटो सहज भने देखिँदैन । यहाँ उनले निकै बलिया प्रतिस्पर्धीहरूको सामना गर्नुपर्नेछ । यो क्षेत्रबाट यसअघि पटक-पटक जित हासिल गरेका र गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेसकै उम्मेदवारलाई हराएका अमरेशकुमार सिंह यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा छन् ।
नेकपा एमालेले युवा उम्मेदवार अमनिस यादवलाई अघि सारेको छ । उनी पूर्वसांसद शिवपुजन रायका छोरा हुन् । नेकपा (माओवादी धार) बाट डा. रगनिस राय यादव र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वरराय यादव पनि प्रतिस्पर्धामा छन् ।
भौगोलिक र ऐतिहासिक रूपमा सर्लाही-४ कांग्रेसको परम्परागत बलियो क्षेत्र मानिन्छ । २०४८ देखि २०५६ सम्म महन्थ ठाकुरले यहाँ राज गरे । ठाकुरले कांग्रेस छाडेपछि सो विरासत अमरेशकुमार सिंहले धानेका थिए । २०७९ को निर्वाचनमा भने रोचक दृश्य देखियो । सत्ता गठबन्धनका साझा उम्मेदवार नागेन्द्रकुमारलाई हराउँदै स्वतन्त्र लडेका अमरेशले २० हजार १७ मत ल्याएर बाजी मारे । त्यतिबेला माओवादीका शिवपुजन रायले आफ्नी छोरी मधुमाला कुमारीलाई स्वतन्त्र उम्मेदवार उठाउँदा उनले १४ हजार ६ सय २२ मत पाएकी थिइन् । यसपालि उनै शिवपुजनका छोरा एमालेको सूर्य चिह्न लिएर मैदानमा उत्रिएपछि चुनावी भिडन्त थप पेचिलो बनेको छ ।
स्थानीय तहको निर्वाचन २०७९ को मत परिणामलाई हेर्दा सर्लाही-४ मा कांग्रेस अझै पनि पहिलो शक्तिकै रूपमा छ । ५१ वटा वडा रहेको यस क्षेत्रमा वडाध्यक्षहरूले पाएको मतका आधारमा मुख्य दलहरूको अवस्था यस्तो छ:-
नेपाली कांग्रेस: २३,१४३ मत (१९ वडा विजयी)
नेकपा (माओवादी केन्द्र): १८,५२४ मत (१२ वडा विजयी)
लोसपा: १४,२२७ मत (८ वडा विजयी)
नेकपा एमाले: ११,४७९ मत (१० वडा विजयी)
जसपा: ६,७८६ मत (२ वडा विजयी)
स्थानीय तहमा कांग्रेस र माओवादीको मत जोड्दा करिब ४२ हजार पुग्छ, जुन गगनका लागि सकारात्मक पक्ष हुन सक्छ । तर, २०७९ कै प्रतिनिधिसभाको समानुपातिक मत परिणामले भने गगनलाई झस्काउन सक्छ । समानुपातिकतर्फ कांग्रेसको मत घटेर १६,०२८ मा खुम्चिएको थियो भने सीके राउत नेतृत्वको जनमत पार्टीले अप्रत्याशित रूपमा १२,५०० मत ल्याउँदै आफूलाई दोस्रो शक्तिका रूपमा उभ्याएको थियो ।
गगन थापाका लागि सर्लाही-४ मा मुख्य चुनौती भनेकै ‘पार्टीको संस्थागत मत’ जोगाउनु र ‘बागी’ मतलाई रोक्नु हो । विगतमा कांग्रेसकै मत विभाजन हुँदा यहाँ स्वतन्त्र उम्मेदवारले जितेको इतिहास छ । अर्कोतर्फ, जनमत पार्टीको बढ्दो प्रभाव र रास्वपाको चिह्नबाट चुनाव लडेका अमरेशकुमार सिंहको व्यक्तिगत प्रभावलाई चिर्नु गगनका लागि फलामको चिउरा चपाउनु सरह हुन सक्छ ।