काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल मतदातासँगको भेटघाट बढाएका छन् ।
उनले दाङका मतदासँग संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुगेका हुन् ।
घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाटमा उनले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा तयार पारेका विकासका काम र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग बहस सुरु गरेका हुन् ।
पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा होमिएको बताए ।
‘विकास योजना कागजमा मात्रै सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ,’ उनले भने ‘योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ ।’
कार्यक्रमका क्रममा उनले आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताए । स्थानीय विकासका उदाहरण प्रस्तुत गर्दै उहाँले सडक, पूर्वाधार, खानेपानी र सिँचाइ जस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता स्पष्ट पारे ।
घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए । स्थानीयले विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो पनि राखेका थिए ।
पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्गलाई सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे ।
‘रणनीतिक महत्व बुझेर निर्माण सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ,’ उनले भने ‘अब त्यो सडक निर्माणको जिम्मा म स्वयं लिन्छु ।’
मतदातासँगको संवादमा उनले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राखे । ‘दाङको समृद्धि साझा एजेण्डा हो,’ उनले भने ‘यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता आवश्यक छ ।’