१७ माघ २०८२, शनिबार
Follow Us

कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि सकियोः सभापति थापा

नेपालब्रिटेन संवाददाता
१७ माघ २०८२, शनिबार ०८:१७

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै काँग्रेसको नियमित महाधिवेशन भइसक्ने बताएका छन् । शनिवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गरे । उनले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताए । पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै विगतको जस्तो ६०/४० को भागबन्डा अब सकिएको बताए ।

काँग्रेसले पार्टीभित्र पनि भागबन्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गरे । सबैलाई समान व्यवहार गर्नेगरीकन पार्टी चल्ने बताए ।

उनले भने ‘अब नयाँ स्थानीय चुनाव भन्दा नयाँ प्रदेशको चुनाव भन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ । नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीका सबै कुराहरू, चुनावको टिकट प्राइमरीबाट वडाको साथीहरूले छान्नुहुन्छ, तलको साथीहरूले छान्नुहुन्छ । प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु पर्दैन । पार्टीमा कुनै गुट पनि छैन । हिजोको जस्तो ६०/४० सकियो अब । काँग्रेसले पार्टीभित्र पनि भागबन्डा गर्दैन, बाहिर पनि गर्दैन । सबैलाई समान व्यवहार गर्नेगरीकन पार्टी चल्छ । नागरिक र पार्टीलाई बलियो बनाउने अभियान पार्टीभित्र सुरु भएको छ । यो बदलिँदो काँग्रेस हो । पार्टी सभापतिको अँध्यारो कोठामा कोहीसँग पनि सम्बन्ध हुँदैन ।’

सभापति थापाले काँग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताए । बदलिएको काँग्रेसले नेपाल बदल्ने सङ्कल्प गरेर आएको बताए ।

धेरै पढिएको