टोकियो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जापान पुगेका छन् । चार दिने औपचारिक भ्रमणका क्रममा प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जापान पुगेका हुन् ।
नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा राष्ट्रपति पौडेललाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा र जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतका उच्च अधिकारीहरूले भव्य स्वागत गरेका थिए । जापान सरकारको विशेष निमन्त्रणामा राष्ट्रपति आइतबार राति काठमाडौँबाट प्रस्थान गरेका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार यो भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित ‘इम्पेरियल प्यालेस’मा जापानी सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । दुई देशका राष्ट्रप्रमुखबीचको यो भेटलाई कूटनीतिक क्षेत्रमा निकै महत्त्वका साथ हेरिएको छ । राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । भ्रमणकै क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यतालिका तय भएको छ ।
राजनीतिक भेटघाटका अतिरिक्त राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । यसले नेपालमा जापानी लगानी भित्र्याउन र आर्थिक सहकार्य सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । साथै, राष्ट्रपति पौडेलको सम्मानमा जापानस्थित नेपाली दूतावासले आयोजना गर्ने विशेष स्वागत समारोहमा उनी सहभागी हुनेछन्, जहाँ उनले त्यहाँ रहेका नेपाली समुदायसँग संवाद गर्नेछन् ।
नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसको ९ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा र सन् १९६७ मा जापानले काठमाडौँमा आ–आफ्नो दूतावास स्थापना गरेका थिए । ७० वर्ष लामो यो मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउन राष्ट्रपतिको यो भ्रमण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । आफ्नो चारदिने व्यस्त भ्रमण पूरा गरी राष्ट्रपति पौडेल आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।