२८ माघ २०८२, बुधबार
Follow Us

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

नेपालब्रिटेन संवाददाता
२८ माघ २०८२, बुधबार १३:२८

काठमाडौँ । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको हो ।

आइतबार काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको थियो । प्रदूषण बढेर मङ्गलबार १९२ एक्युआई मापन गरिएको थियो । आज पनि प्रदूषण कम नभएको वातावरण विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयदेखि वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा प्रदूषकतत्व थुप्रिँदै गएको बताए । उनले भने, ‘उपत्यका कचौरा आकारको छ, हावा नचल्दा र वर्षा नहुँदा यहाँको प्रदूषण अनेत्र जान पनि सक्दैन ।

धुवाँधुलो हावामा तैरिएर बसिरहेको हुन्छ, साथै उद्योग, कलकारखाना सञ्चालन र तीव्र गतिमा भइरहेका विकास निर्माणका गतिविधिले पनि प्रदूषण बढाउन भूमिका खेलेका छन् । यिनै औद्योगिक धुवाँधुलो, सीमापार (क्रस–बोर्डर)बाट भित्रिने प्रदूषणले हावाको गुणस्तरमा असर पारेको हो ।’

वर्षा नभएसम्म प्रदूषणको मात्रा अझै वृद्धि हुनसक्ने उनको भनाइ छ । साथै दिगो र वातावरणमैत्री विकासका उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको उनले बताएका छन ।

धेरै पढिएको