काठमाडौँ । नेपाली काँग्रेसले मधेश प्रदेशस्तरीय सभामा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलनमा मधेश प्रदेश समितिले तयारीबारे जानकारी गराएका छ ।
प्रदेश सभापति कृष्णकुमार यादवले सभापति गगन थापाले सम्बोधन गर्ने उक्त सभामा प्रदेशका ८ वटै जिल्लाबाट व्यापक सहभागिता सुनिश्चित गरिने बताएका छन् ।
‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘यो सभा मधेशमा काँग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ ।’
बुधबार जनकपुरधामस्थित तिरुहुतिया गाछीमा एक समारोहबीच प्रतिज्ञा–पत्र सार्वजनिक गरिने काँग्रेसले जनाएको छ । प्रतिज्ञा पत्रमा मधेशका विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा-स्वास्थ्य सुधार, पूर्वाधार विस्तार तथा सुशासनका एजेन्डा प्राथमिकतामा रहने यादवले बताए ।
प्रदेशमा काँग्रेसभित्र कुनै बागी उम्मेदवार नरहेको भन्दै पार्टी एकताबद्ध र सुदृढ अवस्थामा रहेको उनको भनाइ छ । नेपाली काँग्रेसले मधेश प्रदेशमा आफ्नो जनाधार सुदृढ बनाउँदै आगामी निर्वाचनमा स्पष्ट बहुमतको लक्ष्य राखेको पनि नेताहरूले बताएका छन् ।