लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीसँगको भेटमा बहराइनका लागि नेपाली राजदूत तिर्थराज वाग्लेले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका श्रमिकहरूका लागि छुट्टै अस्पताल स्थापना गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार नेपाली राजदूतावास मनामा मा आयोजित स्वागत कार्यक्रममा बोल्दै राजदूत वाग्लेले वैदेशिक रोजगारीका क्रममा बिरामी वा घाइते भई नेपाल फर्किएका नेपालीहरूको उपचारका लागि विशेष अस्पताल स्थापना गर्न एनआरएनएलाई आग्रह गरे।
भेटमा एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारोमा परेका नेपालीहरूको समस्या समेटेर संघले छिट्टै श्वेतपत्र जारी गर्ने तयारी गरिरहेको जानकारी दिए। उनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको हितलाई केन्द्रमा राखेर संघले निरन्तर काम गर्दै आएको उल्लेख गरे।
संघकी महिला उपाध्यक्ष रोजिना राई प्रधानले वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाहरूको समस्याप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको हक–अधिकारका पक्षमा संघले आवाज उठाउँदै आएको बताइन्।
यूरोप क्षेत्रीय संयोजक चिरञ्जीवी खड्काले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या पहिले मध्यपूर्वमा सीमित रहे पनि पछिल्लो समय यूरोपका विभिन्न देशहरूमा समेत देखिन थालेको बताए।
त्यसैगरी, मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले मध्यपूर्वका विभिन्न अस्पतालमा उपचाररत नेपालीहरूको तथ्यांकसहित श्रमिकहरूको अवस्थाबारे राजदूतसमक्ष जानकारी गराएका थिए। भेटमा एनआरएनए बहराइनका अध्यक्ष राजुकुमार श्रेष्ठ लगायत दूतावासका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
एनआरएनएको आगामी मार्च महिनामा हुने १२औँ महाधिवेशनअन्तर्गत निर्वाचनको तयारीस्वरूप राष्ट्रिय समितिहरूबीच एकताको सन्देश दिन संघको टोली मध्यपूर्व भ्रमणमा रहेको बताइएको छ।