२५ बैशाख २०८१, मंगलवार
Follow Us

५० पैसाबाट दुई अर्ब पचास करोडको पूँजी

नेपालब्रिटेन डट कम्
३० असार २०७४, शुक्रबार १३:१६

छब्बीसजना युवाले २६ वर्षअघि दैनिक पचास पैसा संकलन गरेर स्थापना गरेको गैँडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थामा अहिले रु दुई अर्ब ५० करोडको पूँजी भएको छ । विसं २०४८ भदौ ५ गते स्थानीय २६ जना युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्थाको शेयर रकममात्रै रु २२ करोड भएको छ भने निक्षेप रु दुई अर्ब र लगानी पनि रु दुई अर्ब पुगेको छ ।

संस्थाको पूँजीमात्रै बढेको होइन, यसका सदस्यले पनि करोडौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यस्ता प्रशस्त उदाहरण भेटिन्छन् जसमध्ये एउटा पात्र रहनुभएको छ गैँडाकोट नगरपालिका वडा नं १४, अमरापुरीका धनपति शर्मा ज्ञवाली ।

दायाँ हात गुमाउनुभएका ज्ञवालीले कतैबाट पनि ऋण नपाएपछि बिकु सहकारीमा पुग्नुभयो । उहाँको आफ्नै कथा छ हात नभएकालाई कसले ऋण दिन्छ भन्ने ठूला बैंकको जवाफपछि गैँडाकोटकै बिकुमा उहाँ पुग्नुभएको थियो ।

विसं २०६३ मा उहाँको एक टुक्रा घडेरी थियो । त्यसको पनि ऋण तिर्न बाँकी नै थियो । अपांग भए पनि साहस लिएर बिकु पुग्नुभएका उहाँले कुखुरापालनका लागि सहजै रु दुई लाख ऋण पाउनुभयो । आज उहाँसँग करोडौँ रुपैयाँको सम्पत्ति छ । यसको श्रेय बिकु सहकारीलाई जान्छ ।

“मैले लाखौँ रुपैयाँ बिकुसँग ऋण लिएँ, कुखुरापालन गरेँ र आम्दानीबाट जग्गा पनि किनेँ,” उहाँले भन्नुभयो– “अहिले मेरो ऋण छैन, कुखुरा पालेको ठाउँमा पाँच कट्ठा १० धुर जग्गा छ, बिक्री ग-यो भने रु दुई करोड आउँछ, अरु ठाउँमा पनि केही घडेरी छ, बिक्री गर्दा रु ५० लाख आउला ।” यो सबै सम्पत्ति आर्जन गर्न उहाँलाई बिकु सहकारीले नै साथ दिएको हो ।

धेरै युवालाई करोडपति बनाएको बिकु सहकारीको शुरुवात विजय युवा क्लब क्रेडिट युनियनबाट भएको हो । पछि सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली, २०४९ अन्तर्गत २०५० सालमा जिल्ला सहकारी कार्यालय, नवलपरासीमा दर्ता भएको थियो ।

यस अभियानमा जुट्ने युवा २०३६ सालबाटै संगठित भएर समाजसेवामा जुटिरहेका थिए । उनीहरुलाई विजय युवा क्लबले संस्थागत वनाएको हो । शुरुमा विजय युवा क्लब पुस्तकालयका रुपमा स्थापना गरिएको थियो । यसको उद्देश्य चेतना फैलाउने र समाजको रुपान्तरणका लागि युवा परिचालन गर्नु रहेको संस्थाका उत्प्रेरक तथा समाजसेवी तिलकप्रसाद सापकोटाले बताउनुभयो । उक्त क्लब विजय विकास स्रोत केन्द्रका नामले देश र विदेशमा परिचित छ । यसले बिकुजस्तै छवटा संस्था जन्माएको छ ।

बिकुका प्रमुख अधिकृत माधवप्रसाद पौडेलका अनुसार अहिले यस संस्थाले १० वटा सेवा केन्द्रमार्फत जिल्लाका विभिन्न ठाउँमा सेवा दिँदै आएको छ । संस्थाले एशियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घद्वारा सञ्चालित एक्सेस कार्यक्रमको दोस्रो ब्याचमा सहभागी भई एशियास्तरको ब्राण्ड प्राप्त गरिसकेको पौडेलले बताउनुभयो ।

संस्थाले एसएमएस बैंकिङमात्रै होइन, एटिएम कार्डबाट स्वाइप गरी रकम निकाल्न सकिने सेवा पनि सञ्चालन गरेको छ । संस्थाले ३६५ दिन नै बंैकिङ सेवा, सन्ध्याकालीन काउन्टर सेवा, विद्युत्को बिल भुक्तानी सेवा, मोबाइल काउन्टर सेवा, ट्याबलेट बैंकिङ सेवा र वित्तीय परामर्श सेवा पनि दिँदै आएको छ ।

विजय विकासका अध्यक्ष एवं बिकुका संस्थापक अध्यक्ष खेमराज सापकोटा विगतको स्मरण गर्दै भन्नुहुन्छ – “शुरु शुरुमा ५० पैसाले विकास गर्छाैं भन्ने एक मोहोरे विकास भनेर हाम्रो खिल्ली उडाउने गर्थे । तर हामी निराश भएनौँ, अभियान जारी राख्यौँ ।” –“हामीले भन्दै गयौँ – एक कप चिया घटाउनुहोस् हामीलाई ५० पैसा दिनुहोस्, हामी सभ्य समाज निर्माणमा सहयोग पु-याउँछौँ ।”

विजय विकास स्रोत केन्द्रका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालका अनुसार केन्द्रले बिकुसँगै विजय सामुदायिक शिक्षा सदनमार्फत नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ गरिरहेको छ । विजय सूचना तथा सञ्चार सहकारीमार्फत विजय एफएम सञ्चालन गरिरहेको छ । विजय लघुवित्त वित्तीय संस्थामार्फत देशका विभिन्न ठाउँमा वित्तीय सेवा दिइरहेको छ । पछिल्लो समय विजय कन्सल्टिङ कम्पनी प्रालि र विजय फाउण्डेशन नेपालमार्फत सामाजिक सेवा गर्दै आएको छ ।

विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका लम्सालका अनुसार केन्द्रले अहिले पनि ४४ जिल्लामा कृषिसँगै अन्य कार्यक्रम लिएर समाज रुपान्तरणको काम गर्दै आएको छ ।

विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक प्रेमकृष्ण मानन्धरका अनुसार केन्द्रले प्रवद्र्धन गरेका संस्था स्वायत्तरुपमा सञ्चालनमा छन् । यी संस्थामार्फत एक लाखभन्दा बढी प्रत्यक्षरुपमा लाभान्वित भएको मानन्धर बताउनुहुन्छ । नयाँ नयाँ संस्था गठन गरी समाजको आवश्यकता पूर्ति गर्न केन्द्र लागिपरेको उहाँको भनाइ छ ।
– नारायण अधिकारी