काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन् । मोदीले रास्वपाका सभापति लामिछाने र पार्टीका वरिष्ठ नेता शाहसँग छुट्टाछुट्टै वार्ता गर्दै उनीहरूलाई हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका हुन् ।
मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालमा हासिल गरेको उल्लेखनीय चुनावी सफलताप्रति खुसी व्यक्त गर्दै आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन् ।
साथै उनले नेपाल र भारतबिच आपसी समृद्धि, प्रगति र नागरिकको हितका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबिचको सम्बन्ध आगामी वर्षहरूमा अझ उच्च स्तरमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।