काठमाडौँ । नेपाली काँग्रेसभित्र संस्थापन इतर समूहले पार्टीगत गतिविधि समन्वय र आगामी महाधिवेशनको तयारीका लागि काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
अनामनगरमा खोलिएको उक्त कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग नजिक मानिने नेताहरूको सक्रियतामा सञ्चालनमा ल्याइएको हो । कार्यालय स्थापनामा गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायत नेताहरूको सहभागिता रहेको जनाइएको छ ।
तीमध्ये बराल, बस्नेत र काफ्ले पूर्व केन्द्रीय सदस्य हुन् भने शेरचन हाल बागलुङ काँग्रेस सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीको जिम्मेवारीमा छन् । यस्तै कार्की कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन् ।
समूहका नेताहरूले सम्पर्क कार्यालयलाई पार्टीको आगामी १५औँ महाधिवेशनलाई एकतामूलक बनाउन केन्द्रित रहने संरचनाका रूपमा व्याख्या गरेका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठका अनुसार कार्यालयको उद्देश्य नयाँ राजनीतिक दल गठन नभई पार्टीभित्रको एकता मजबुत बनाउँदै महाधिवेशन तयारीमा सहयोग पुर्याउनु हो ।
उनले महाधिवेशनलाई साझा सहमति र एकताको आधारमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसैका लागि कार्यालय स्थापना गरिएको स्पष्ट पारे ।
यसैगरी नेता गुरु बरालले पनि पार्टीभित्र एकताको वातावरण सिर्जना गर्न दबाबमूलक र समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको बताएका छन् ।
अनामनगरस्थित कार्यालयमा पूर्व केन्द्रीय सदस्य, विभिन्न भ्रातृ संगठनका प्रतिनिधि तथा अन्य नेताहरूको उपस्थिति देखिएको छ । कार्यालय परिसरमा नेपाली काँग्रेसको चारतारे झण्डासँगै पार्टीका विभिन्न ऐतिहासिक नेताहरूका तस्बिरहरू समेत सजाइएका छन् ।