५ जेष्ठ २०८३, मंगलवार
Follow Us

ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै रुसी राष्ट्रपति पुटिन बेइजिङमा

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार ११:५६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेपछि विश्व राजनीति फेरि चीन–रुस धुरीतर्फ केन्द्रित भएको छ । युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका–चीन सम्बन्ध र मध्यपूर्वको तनावबीच भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोडेर विश्लेषण गर्न थालिएको छ ।

राष्ट्रपति पुटिन मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ आइपुगेका हुन् । क्रेमलिनका अनुसार दुवै नेताले रुस–चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिँदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ ।

यो भ्रमण विशेष अर्थमा महत्त्वपूर्ण मानिएको छ, किनभने ट्रम्पले झन्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा गत साता बेइजिङ पुगेर अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेका थिए । तर उक्त भ्रमणबाट ठोस उपलब्धि ननिस्किएको विश्लेषण भइरहेका बेला पुटिनको बेइजिङ आगमनले मस्को–बेइजिङ सम्बन्ध अझ मजबुत रहेको सन्देश दिएको मानिएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले मस्कोलाई कूटनीतिक र आर्थिक रूपमा अलग्याउने प्रयास गरेका थिए । त्यसयता रुस चीनमा अझ निर्भर बन्दै गएको छ ।

विशेषगरी चिनियाँ बजार अहिले रुसी तेलको प्रमुख गन्तव्य बनेको छ भने पश्चिमी प्रतिबन्धका कारण मस्कोले आर्थिक सहाराका लागि बेइजिङमाथि निर्भरता बढाएको छ । भ्रमणअघि नै दुवै नेताले आफ्नो रणनीतिक साझेदारीको ३० वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश आदानप्रदान गरेर सम्बन्धको घनिष्ठता प्रदर्शन गरेका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले रुस–चीन सहकार्य निरन्तर गहिरिँदै गएको उल्लेख गरेका थिए ।

त्यसैगरी पुटिनले मङ्गलबार चिनियाँ जनताका नाममा जारी भिडियो सन्देशमा रुस–चीन सम्बन्ध ‘अभूतपूर्व उचाइमा’ पुगेको बताए । उनले दुई देशबीचको व्यापार तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै दुवै राष्ट्रले कसैको विरुद्धमा गठबन्धन नगरी विश्व शान्ति र साझा समृद्धिको पक्षमा काम गरिरहेको दाबी गरे । पुटिनले आफ्नो सम्बोधनमा कुनै तेस्रो देशको नाम नलिए पनि उनको अभिव्यक्तिलाई अमेरिका लक्षित सन्देशका रूपमा हेरिएको छ । वार्तापछि दुवै नेताले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । गत सेप्टेम्बरमा बेइजिङ भ्रमणका क्रममा राष्ट्रपति सीले पुटिनलाई ‘पुरानो मित्र’ भन्दै विशेष स्वागत गरेका थिए ।

विश्लेषकहरूका अनुसार ट्रम्पको भ्रमणको तुलनामा पुटिनको भ्रमणमा कम सार्वजनिक तामझाम देखिए पनि चीन–रुस सम्बन्धलाई त्यस किसिमको प्रदर्शन आवश्यक नपर्ने अवस्था बनेको छ । वासिङ्टनस्थित ब्रुकिङ्स इन्स्टिच्युसनकी प्याट्रिसिया किमका अनुसार बेइजिङ र मस्कोले आफ्नो सम्बन्धलाई अमेरिका–चीन सम्बन्धभन्दा धेरै स्थिर र संरचनात्मक रूपमा बलियो मानेका छन् । उनका अनुसार दुवै देश अहिले साझा रणनीतिक हितका आधारमा नजिकिएका छन् ।

चीनले युक्रेन युद्ध सुरु भएयता निरन्तर वार्तामार्फत समाधानको पक्षमा आवाज उठाउँदै आएको छ । तर बेइजिङले रुसको सैन्य आक्रमणको खुला आलोचना भने गरेको छैन । चीनले आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्दै आएको छ । गत साता ट्रम्प र सीबीच भएको वार्तामा युक्रेन युद्धको विषय पनि उठाइएको थियो । तर अमेरिकी राष्ट्रपति ठोस सहमति वा उपलब्धिविना नै चीनबाट फर्किएको विश्लेषण गरिएको छ ।
एजेन्सी

धेरै पढिएको