६ जेष्ठ २०८३, बुधबार
Follow Us

वरिष्ठतम् न्यायाधीश सपनाद्वारा प्रधानन्यायाधीश शर्माको स्वागत बहिष्कार, १५ दिन बिदामा

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०८३, बुधबार ०४:१०

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले हिजो मंगलबार साँझ सर्वोच्च अदालतमा पदभार ग्रहण गर्दा निवर्तमान कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने स्वागत कार्यक्रममा अनुपस्थित रहिन् ।

बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल १५ दिन बिदामा बस्ने भएकी छन् । मंगलबारदेखि सर्वोच्च अदालतमा मल्लको कार्यकक्षसमेत परिवर्तन गरिएको र कामु प्रधानन्यायाधीशको जिम्मेवारी सकिएका कारण उनी दुईहप्ता विदामा बस्न लागेकी हुन् । यता, नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले भने तीनजना बरिष्ठ न्यायाधीशहरुलाई हटाउने चाहना प्रकट गरेका छन् ।

रोलक्रममा आफू अगाडि हुँदाहुँदै संवैधानिक परिषद्ले चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको विषयमा असन्तुष्ट रहँदै आएकी मल्लले स्वागत कार्यक्रम नै बहिष्कार गरेकी हुन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेका थिए ।

उनको स्वागतका लागि सर्वोच्च अदालत, उपत्यकास्थित उच्च अदालत, विशेष अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरू उपस्थित थिए । सर्वोच्च अदालत प्रशासनले यसबारे सबै अदालतलाई पूर्वजानकारीसमेत गराएको थियो ।

स्वागत कार्यक्रममा सपना प्रधान मल्ल भने देखिइनन् । स्रोतका अनुसार शर्मा सर्वोच्च अदालत पुग्नुअघि नै मल्ल अदालतबाट बाहिरिएकी थिइन् । शर्माभन्दा अघिल्लो वरियतामा रहेका कुमार रेग्मी र हरिप्रसाद फुयाल स्वागतमा उपस्थित थिए ।

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु भएदेखि नै मल्लले असन्तुष्टि जनाउँदै आएकी थिइन् । आफू रोलक्रममा अगाडि रहे पनि संवैधानिक परिषद्ले कनिष्ठ न्यायाधीशलाई अघि बढाएर आफूलाई पाखा लगाएको उनको बुझाइ छ ।

धेरै पढिएको