अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको शान्ति सम्झौताका लागि भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै उनले दुवै पक्ष सैन्य कारबाहीलाई निरन्तरता दिन इच्छुक नरहेको उल्लेख गरे ।
भान्सकाअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम अमेरिकाले इमानदारीपूर्वक वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ । उपराष्ट्रपति भान्सले वार्ता सफल नभएमा विकल्प बीसमेत तयार रहेको चेतावनी दिए ।
वार्ताको मुख्य एजेण्डाबारे प्रष्ट पार्दै भान्सले इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नपाउने अमेरिकी अडान दोहोर्याए । रुसले इरानको संवर्धित युरेनियम आफ्नो नियन्त्रणमा लिने भनी सार्वजनिक भएका केही प्रतिवेदनहरूलाई भान्सले अस्वीकार गरेका हुन् ।
उनले यस्तो विषय अमेरिकी सरकारको हालको योजनामा नरहेको र इरानी पक्षले पनि यसमा चासो नदेखाएको प्रष्ट पारे । यसअघि मंगलवार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको मध्यस्थतामा भइरहेको वार्तामा प्रगति भएको जानकारी खाडी क्षेत्रका सहयोगी मुलुकहरूबाट प्राप्त भएको बताएका थिए ।
वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि ट्रम्पले थप दुई देखि तीन दिनको समय उपलब्ध गराएका छन् । यसैबीच, राष्ट्रपति ट्रम्पले मंगलबारका लागि तय गरिएको इरानविरुद्धको सैन्य आक्रमणको योजनालाई स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएका छन् ।