२१ जेष्ठ २०८३, बिहीबार
Follow Us

महानिर्देशक मनमाया पंगेनीको ‘शान्तिको धुन’ सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०८३, बिहीबार ०३:४२

काठमाडौँ । नेपाल सरकारका विभिन्न तहका बहालवाला तथा पूर्व उच्चपदस्थ प्रशासकहरूको सहभागितामा अभिनित गीत ‘शान्तिको धुन’ सार्वजनिक भएको छ । नेपाल सरकारकी महानिर्देशक मनमाया पंगेनीको शब्द तथा संगीत रहेको उक्त गीतमा प्रशासन, न्याय, सुरक्षा र सार्वजनिक संस्थानसँग सम्बन्धित दर्जनौं व्यक्तित्वले विशेष भूमिका निर्वाह गरेका छन् ।

गीतमा मनमाया पंगेनी र कमल सौरागले स्वर दिएका छन् । शान्ति, सहअस्तित्व र सामाजिक सद्भावको सन्देश बोकेको गीतको भिडियोमा पूर्व मुख्यसचिव लीलादेवी गड्तौला, पूर्वमन्त्री तथा पूर्वसचिव शंकरप्रसाद कोइराला, नेपाल सरकारका सचिवद्धय रविलाल पन्थ, लक्ष्मीकुमारी बस्नेत, न्यायाधीश श्रीधरा पुडासैनी, पूर्वसचिव केशवकुमार शर्मा, मधेश प्रदेशकी सचिव पार्वती शर्मा, सहसचिव हेमराज तामाङलगायतको अभिनय रहेको छ ।

त्यस्तै नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोल, नेपाल आयल निगमकी उपनिर्देशक इन्दु शर्मा, डा. शालिग्राम पराजुली, सहसचिव इन्दु घिमिरे, सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपाली, नेपाल प्रहरीका पूर्व एआईजीद्वय टेक तामाङ र माधवप्रसाद नेपाल, सार्वजनिक सेवा प्रसारण नेपालका पूर्व प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेलगायतले पनि भिडियोमा भूमिका निर्वाह गरेका छन् ।

गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका छन् भने रेकर्डिङ त्रिवेणी स्टुडियोमा गरिएको हो । भिडियोमा कलाकार सनम कठायत र अस्मिता खनालको मुख्य अभिनय रहेको छ । बाल कलाकारका रूपमा मनुश्री भट्टराई र श्रीनिधी कठायत देखिएका छन् ।

भिडियोको परिकल्पना तथा निर्देशन सनम कठायतले गरेका हुन् । छायांकन महेश महरा तथा उनको टोलीले गरेको भिडियोमा स्माइल मियाले सह–निर्देशन तथा अमृत चापागाईंले सम्पादन गरेका छन् । भिडियो निर्माण एभरेष्ट ग्यालरीले गरेको हो ।

प्रशासनिक सेवामा कार्यरत तथा सेवा निवृत्त उच्च अधिकारीहरूको सामूहिक सहभागिताले ‘शान्तिका धुन’लाई सामान्य सांगीतिक प्रस्तुति मात्र नभई सार्वजनिक सेवामा रहेका व्यक्तिहरूको सिर्जनात्मक अभिव्यक्तिका रूपमा समेत प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

धेरै पढिएको