३० असार २०८३, मंगलवार
Follow Us

माजिदको बयान लिन अस्पताल पुग्यो मानव अधिकारको टोली

नेपालब्रिटेन संवाददाता
३० असार २०८३, मंगलवार ११:५२

महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा उपचाररत् जेनजी अभियन्ता माजिद अन्सारी भोलिमात्र डिस्चार्ज हुने भएका छन् । आजै घर फर्किने तयारीमा रहेका उनलाई ‘माथिको निर्देशन’ मा अस्पतालले डिस्चार्ज नदिएको आफन्तको गुनासो छ । सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गर्दै शनिबार कीर्तिपुरको होल्डिङ सेन्टर पुगेका उनी प्रहरीले कुटपिटबाट घाइते भइ सोही दिनदेखि उक्त अस्पतालमा उपचार गराइरहेका छन् ।

उनका आफन्तले बताएअनुसार अन्सारी आजै डिस्चार्ज भएर बाँकी उपचार घरमै गर्न चाहन्थे । चिकित्सकलाई आग्रह पनि गरिएको हो । तर, प्रहरीको निर्देशनपछि अस्पताल प्रशासनले भोलिमात्र डिस्चार्ज गर्न मिल्ने जानकारी दिएको ति आफन्तले सुनाए ।

पक्राउ पूर्जी मागेकै कारण प्रहरीको कुटपिटमा परेका अन्सारी अहिले न्यूरो सर्जरी भवनको चौथो तलमा राखिएका छन् । उनको बयान लिन मानव अधिकार आयोगको टोली आज त्यहाँ पुगेको छ । आयोगले उक्त घटनामा गृह मन्त्रालय र सम्बन्धित क्षेत्रका प्रहरी इन्चार्जसँग बयान लिने बताएको अन्सारीको हेरचाहमा खटिएका उनै आफन्तले बताए ।

‘आयोगको टोलीले माजिदसँग बयान लिएको छ, उहाँहरूले गृहमन्त्रालय र सम्बन्धित निकायको पनि बयान लिन्छौँ भन्नुभएको छ’, उनले भने, ‘हामीले आजै डिस्चार्ज गरेर बाँकी उपचार घरमै गर्ने योजना बनाएका थियौँ, तर अस्पतालले मानेन, प्रहरीले अहिले डिस्चार्ज नदिनू भनेको सुनेका छौँ ।’

धेरै पढिएको