काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना परिचालन गरिएको छ ।
प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै उग्र प्रदर्शन गरेपछि हतियारसहित नेपाली सेनाको टोली परिचालन गरिएको हो । स्थानीय प्रशासनका अनुसार सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको छ ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले क्षेत्रको अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताए ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
उक्त घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।