लण्डन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जालाई खोज्न पाकिस्तान सरकारले सेना परिचालन गरेको छ।
पर्वतारोहणका क्रममा बेपत्ता भएको खबरपछि खोज तथा उद्धार अभियान तीव्र पारिएको हो। अल्पाइन क्लब अफ पाकिस्तानले नेपालब्रिटेन डट कमलाई दिएको जानकारी अनुसार, दुई वटा पाकिस्तान आर्मी एभिएसनका उद्धार हेलिकप्टरहरू उद्धारकर्मी र विशेष उपकरणसहित प्रभावित क्षेत्रमा पठाइएको छ। ती हेलिकप्टरहरूले दुर्गम उच्च हिमाली क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
अल्पाइन क्लबले पाकिस्तान आर्मी एभिएसन तथा संलग्न सबै निकायहरूको तीव्र प्रतिक्रिया र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै हराइरहेका आरोहीहरूको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेको छ। साथै, थप विवरण उपलब्ध हुँदै जाँदा प्रमाणित जानकारी सार्वजनिक गरिने जनाएको छ।
यसैबीच, बिहीबार दिउँसोदेखि पाकिस्तानको काराकोरम हिमश्रृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक क्षेत्रमा हिमपहिरो गएपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको टोली बेपत्ता भएको आशंका गरिएको थियो। तर, शुक्रवार बिहान एक पाकिस्तानी पर्वतारोहण अधिकारीले नेपालब्रिटेन डट कमसँग ह्वाट्सएपमार्फत कुरा गर्दै उक्त टोली सम्पर्कमै रहेको जानकारी दिएका छन्।
अधिकारीका अनुसार सम्भावित उद्धारका लागि स्कर्दुमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने सरकारी उद्धार टोली पनि परिचालन गरिएको छ।
बिबिसीका अनुसार उक्त १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली पर्वतारोही सहभागी छन्।
टोलीका नेता निर्मल पुर्जा सन् २०१९ मा छ महिनाभन्दा केही बढी समयमै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।