काठमाडौँ । एमालेमा पार्टी संगठन सुदृढीकरण तथा निर्वाचन परिणामको समीक्षा गर्न गठित पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलले तयार पारेको ५६ पृष्ठको प्रतिवेदन नै विवादितमा परेको छ । कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले प्रतिवेदनका मुख्य अंशहरु अध्यक्ष केपी शर्मा ओलीलाई अध्ययनका लागि दिएका छन ।
बादल र शंकरलाई असार २५ मा सम्पन्न कार्यदलको बैठकले प्रतिवेदन लेखनको जिम्मा दिएको थियो । उनीहरुले सल्लाह गरेरै प्रतिवेदन तयार पारेका थिए । तर, उक्त प्रतिवेदन कार्यदलको बैठकमा पेश गर्नुपूर्व नै पार्टी अध्यक्षलाई दिइएको र त्यसमा लेखिएका कुरा बाहिरबाट सुन्नुपरेको भन्दै केही सदस्यले असन्तुष्टि जनाइरहेको स्रोतले जानकारी दिएको छ ।
कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकालसहित ९ वटै प्रदेशका इन्चार्ज सदस्य रहेका छन । एमालेले ७ भौगोलिक प्रदेशसहित राजधानी, सम्पर्क मञ्च, केन्द्रीय आयोग, विभाग, सल्लाहकार परिषद्, प्रवास र जनसंगठनलगायतका निकायमा छलफल गरी सुझाव संकलन गरेको थियो ।
जेठ ३० गते शुरु भएको सुझाव संकलन असार २३ मा सकिएपछि सदस्य सचिव पोखरेलले प्रतिवेदन तयार पारेका थिए । कार्यदलमा प्रतिवेदनको मस्यौदामाथि छलफल गरी प्राप्त सुझावका आधारमा मात्र अध्यक्षलाई बुझाउने सहमति भए पनि संयोजक र सदस्य सचिवले सीधै अध्यक्षलाई प्रतिवेदन बुझाएको आशंका सदस्यहरूले गरेका छन् ।
प्रतिवेदन हात परेपछि ओलीले शंकरलाई ‘निबन्ध लेखियो कि महाभारत ?’ भन्दै कटाक्ष गरेका थिए ।